दिनेशको नाममा सात विश्व कीर्तिमान छ, चार कीर्तिमानकै प्रक्रियामा छ भने एउटा अर्को विश्व कीर्तिमानका लागि उनी प्रयासरत छन्
काठमाडौँ — दिनेश सुनारले आफ्नो नामको पछाडि ‘पार्कर’ राखेका छन् । पार्कर एउटा खेल हो, जसमा मार्सल आर्टस, एथलेटिक्स र जिम्न्यास्टिकको समिश्रण हुन्छ । शारीरिक रूपमा फिट हुन मात्र मान्छेले यो खेल खेल्ने गरेको देखिन्छ । यो खेल साहसिक पनि छ ।
तर, यो खेलले त्यस्तो रफ्तार लिन सकेको छैन । ओझेलमै छ पार्कर खेल । जो यस खेलमा लागेका छन्, धेरैका लागि मनोरञ्जनको हिसाबमा छ । यसले व्यावसायिक गति लिन सकेको छैन । यही खेलबाट दिनेशले ७ विश्व कीर्तिमान राखिसकेका छन्, ४ विश्व कीर्तिमान मान्यता पाउने प्रक्रियामा छ । झट्ट हेर्दा उनले नै यस खेललाई चिनाए जस्तो देखिन्छ । त्यही भएर पनि होला सर्च गरेर बुस्ट होस भनेर दिनेशले आफ्नो नामपछाडि पार्कर राखेका छन् ।
दिनेश ७–८ वर्षको उमेरदेखि उफ्रिने तथा उल्टीसुल्टी जम्प गर्ने गर्थे । चकचके स्वभावका कारण उनको परिवार काठमाडौंमा धेरै पटक डेरा सर्नुपरेको थियो । हलिउड फिल्मका ज्याकी चान, ब्रुस लीदेखि नेपालका निखिल उप्रेतीको प्रभाव उनमा निकै परेको थियो । फिल्ममा हिरोबाहेक अरूले यस्तो गर्न सक्दैनथ्यो भन्ने उनका परेको थियो । हिरोहरूले पनि कम्प्युटरबाट स्केच बनाएर गर्ने हो भनेर हल्लासमेत उनको कानमा पुगेको थियो । खोलामा, हरियो घाँस, खेतबारीमा गरेर उनी पनि हिरोहरूले जस्तै उफ्रिन सिक्न खोज्थे । फिल्ममा जुन हेरेको हो, त्यही गर्न खोज्थे । आखिर हिरोले सक्ने अरूले किन नसक्ने भन्ने उनको मनमा पर्न थाल्यो ।
खोटाङको हलेसी तुवाछुङ नगरपालिकाको राजापानीका उनी स्कुलमा राम्रै विद्यार्थी थिए । २०६४ सालमा गाउँमा सबै भेला भएको समयमा स्कुलको पुरस्कार वितरण समारोहमा स्कुलकै छतबाट उल्टी जम्प हान्दै पुरस्कार लिन पुगेपछि उनको चर्चा सुरु भयो । बुढापाका सबै चकित भए । कसैले बाँदर, कसैले हनुमान, कसैले पहलमान, कसले उड्ने मान्छे भने । त्यहींदेखि आफू भाइरल भएको लाग्छ उनलाई । त्यो हल्ला एक कान दुई कान हुँदै अर्को स्कुलमा पनि पुग्यो । त्यहाँ उडेर नै स्कुल नै नाघिदिन्छ भन्ने खबर फैलिइसकेको थियो । पालैपालो स्कुलहरूले उनलाई कार्यक्रममा ‘स्टन्ट’ गर्न बोलायो । घरमा चाहिँ कतिले ‘तेरो छोरा उड्दाउड्दै लडेर मर्छ’ भनेर बुवाआमालाई कुरा लगाइदिन भ्याएछन् ।
२०६८ सालमा सनतकुमार बस्नेत सशस्त्र प्रहरी बलका आईजीपी थिए । उनी पनि खोटाङकै हुन् । दिनेशको पारी गाउँ सापाटेलका थिए । आईजीपी भएको समयमा बस्नेतले आफ्नो गाउँमा बुवाआमाको नाममा खुला भलिबल र नृत्य प्रतियोगिता आयोजना गरेका थिए । ‘काठमाडौंबाट ठुलो मान्छे आउँदैछन् तैले त्यहाँ आफ्नो प्रदर्शन देखाइस् भने मौका पाउँछस्’ भनेर धेरैले दिनेशलाई उक्साएपछि उनी बिहान चारै बजे हातमा चप्पल लिएर जंगलको बाटो खाली खुट्टामा दौडिए । चार घन्टाको बाटो थियो । आफूलाई कार्यक्रममा आफ्नो प्रदर्शन देखाउने मौका दिनुपर्छ भन्नका लागि उनी बस्नेतलाई भेट्न दौडिएका थिए ।
तर, आईजीपी बस्नेत पूरा सुरक्षाकर्मीको घेरामा रहेर हेलिकप्टरबाट स्कुलको मैदानमा ल्यान्ड भएका थिए । यद्यपि आयोजक दिनेशको प्रदर्शन हेर्न राजी भयो । खाली खुट्टा स्कुलको छतमा चढेर दिनेशको उल्टी जम्प हान्दै ओर्लिएको प्रदर्शनबाट आईजीपी बस्नेत पनि हेरेको हेरै भए । बस्नेतले बोलाएर दिनेशका बारेमा जानकारी लिए । बक्सिसस्वरुप उनले ३ हजार पनि दिए । बस्नेतले दिनेशलाई खाली खुट्टा किन जम्प गरिरहेका छौं, यस खेलबारे ज्ञान लिएका छौं भनेर सोधे पनि । बस्नतेले उनको पढाइबारे पनि जानकारी लिए । दिनेशले आफू एसएलसी दिन लागेको बताएका थिए । एसएलसी दिएपछि आफूलाई काठमाडौं आएर भेट्न बस्नेतले भने । त्यही कुरालाई मनमा लिएर दिनेश बसे ।
…
त्यसपछि उनको यात्रा सुरु भयो दशरथ रंगशालास्थित जिम्न्यास्टिक कभर्डहलमा । जहाँ उनले पहिलोपल्ट जिम्न्यास्टिकका म्याटलगायत सामग्री देख्दा जिल्ल परे । आफूले देखाउँदै आएको कला र जिम्न्यास्टिकको प्रदर्शन उनले पूरै फरक पाए । उनी सशस्त्रको जवान बने । उनले जे प्रदर्शन गर्थे त्यो पार्कर थियो । तर उनलाई त्यो खेल पार्कर हो भन्ने थाहा थिएन । जम्प, रोल, कङ, रनिङ, स्विङ, क्लाइम्बिङ, भल्टिन पार्करमा थियो । जिम्न्यास्टिक र पार्करको सम्बन्ध नङ र मासु जस्तै हो । जिम्न्यास्टिकमा फ्लोर एक्सरसाइज, रिङ, भल्ट, हाइ बार, प्यारालल बार, पोमल हर्स गरी ६ विधामा प्रतियोगिता हुन्छन् । अहिले पार्कर पनि जिम्न्यास्टिकमै रहेको छ । भविष्यमा पार्करलाई ओलम्पिकमा राख्ने सम्भावना रहेको दिनेश जनाउँछन् ।
सन् २०१४ मा प्रथम लुम्बिनी च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेका थिए जिम्न्यास्टिकबाट । युट्युब हेर्दै काँडाघारीबाट जोरपाटीको बालुवाखानीमा गएर उनी नियमित जम्प हान्थे । त्यही भिडियो युट्युबमा हेर्दै गर्दा वाल ब्याक समरसल्ट, लङगेस्ट ब्याक लिभमा विश्व कीर्तिमान राखेको थाहा पाए । यस्तोमा पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डस हुँदोरहेछ भन्ने थाहा पाए । जतिबेलासम्म उनलाई कीर्तिमानबारे थाहा थिएन । त्यसपछि उनलाई पनि विश्व कीर्तिमान बनाउँछु भन्ने हुटहुटी जाग्न थाल्यो, हिम्मत पलायो र मनैदेखि उर्जा मिलेको महसुस भयो ।
अनि सुरु भयो विश्व कीर्तिमानलाई उनको तयारी । तर, यो कसरी दर्ता गर्ने, को–को मान्छेलाई भेट्ने उनलाई केही थाहा थिएन । ‘सुरुमा मान्छेले यसमा विश्व कीर्तिमान बनाउँछु भन्दा पागल भन्थे, धेरैले पत्याउँदैनथे । विश्वमा यस्तो स्टन्ट हान्ने कति हुन्छन् कति भन्थे,’ दिनेश ती दिन सम्झन्छन् । त्यसको एक वर्ष विश्व कीर्तिमानको आधिकारिक मान्छे खोज्नै बितेको उनी स्मरण गर्छन् । विश्व कीर्तिमान राखेर नेपाललाई चिनाउँछु र पार्कर खेल पनि अगाडि बढाउँछु भन्ने उनीभित्र लालसा थियो । तर अभ्यास गर्ने ठाउँ थिएन । बालुवाखानी र रंगशालामा प्रशिक्षण गरेर उनले तयारी जारी थियो ।
‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन वान मिनेट’ अर्थात एक मिनेटमा सबैभन्दा जिउको पछाडिको भाग ३६० डिग्रीमा घुमाउनुपर्ने कीर्तिमानका लागि गिनिज बुकले उनलाई समय दियो । १ मिनेटमा १५ पटक घुमाएको विश्व कीर्तिमान थियो, तोड्नलाई उनले १६ पटक जिउ घुमाउनुपर्ने भयो । सन् २०१६ मा विश्व कीर्तिमानका लागि तयारी गर्दा देव्रे खुट्टा भाँचियो । तीन महिना त उनी प्लास्टर लगाएर अस्पताल नै बसे । एक वर्षसम्म दौडिने हुँदैन, आराम गर्नुपर्छ भनेर डाक्टरले भनिदिए । उनलाई चिन्ता सताउन लाग्यो । ब्रुस लीको आत्मकहानी अस्पतालको बेडमा पढ्दा उनलाई उर्जा मिल्थ्यो । ज्यान अस्पतालमा भए पनि ध्यान जोरपाटीको बालुवाखानी र रंगशालामा पुग्थ्यो । प्लास्टर खोलेको दिन डाक्टरले ३–४ महिना थप केही नगर्नु भनेको उनी उल्टै त्यही दिन रंगशाला पुगेर खेल्नै पो बिर्सिन्छ कि भनेर एक खुट्टाले अभ्यास गर्न पुगे । पुरानै स्थितिमा पुग्न ८–९ महिना लाग्यो । उनले हार खाएनन् ।
…
सन् २०१७ को जुन १ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका लागि सशस्त्र प्रहरी मुख्यालयमा धेरैलाई साक्षी राखेर प्रयास गरे । एक मिनेटमा १८ पटक जिउ घुमाएर गरेको प्रयासलाई अक्टोबरमा गिनिज बुक अफ द वर्ल्डले विश्व कीर्तिमान भएको प्रमाणित गरिदियो । उनलाई त्यो दिन विश्वकप जितेजस्तो अनुभव भयो । उनले त्यो दिन आफूले गरेका कठिनाइ, भोगाइ र दुःखद क्षण घरीघरी सम्झिए ।
बास्केटबल फ्री स्टाइलरमा विश्व कीर्तिमान बनाएका थानेश्वर गुरागाईंले उनलाई त्यो विश्व कीर्तिमानमा पुग्न सघाएका थिए । थानेश्वरको नाममा २३ विश्व कीर्तिमान छन् । उनलाई बढी सघाउने बहिनी अस्मिता जुरेली हुन्, जो रेस्लिङ खेलाडी हुन् । बुवा कतारमा रोजगारी गर्छन् ।
‘तेरो जिन्दगी विश्व कीर्तिमान बनाउँदै जाने भो’ भनेर घरमा पनि बेलाबेला चर्चा हुने गरेको उनी सुनाउँछन् । आफ्नो दुःख र समर्पणको पनि चर्चा हुनुपर्ने दिनेश सुनाउँछन् । जिम्न्यास्टिक जननी खेल हो । तर नेपालमा दयनीय अवस्थामा देख्छन् उनी । प्रतियोगिता कम छ, खेलाडी लोप हुँदै गएका छन् । तर उनी स्वयंले देश छाडिसकेका छन् । गत वर्षदेखि उनी अमेरिकामा छन् ।
पार्करमा यसअघि विकसित मुलुकमा खेल्दै आएकामा नेपाल जस्तो अल्पविकसित मुलुक आएकोमा उनलाई सबैभन्दा सन्तुष्टि दिएको छ । विश्व कीर्तिमानसँगै उनी विभिन्न देशको समाचारमा छाए । विश्व पार्कर संघले त्यो देखेर उनलाई सन् २०१८ मा अमेरिकामा विश्वकप खेल्ने निमन्त्रणा दियो । त्यसअघि कुनै नेपालीले पार्करको विश्वकप खेलेका थिएनन् । अमेरिकाको फ्लोरिडामा भएको विश्वकपमा तीन वटाको फाइनल राउन्डमा पुग्दै उनी शीर्ष १० मा पर्न सफल भए । त्यही समयमा उनले पार्कर इन्स्ट्रक्टरको प्रशिक्षण पनि लिए । जसले उनी नेपालको पहिलो पार्कर इन्स्ट्रक्टर बने ।
…
नेपाल फर्किएर फेरि उनले विश्व कीर्तिमान बनाए । यस पटक उनले ‘द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड’ मा विश्व कीर्तिमान बनाएका थिए । यसमा भित्तामा खुट्टाले टेको लगाएर उल्टो घुम्नुपर्ने थियो । उनले ३० सेकेन्डमा १६ पटक घुमिदिए । पुरानो विश्व कीर्तिमानभन्दा एक पटक बढी उल्टो घुमे । उनले यसै गरी सात विश्व कीर्तिमान बनाइसकेका छन् । ४ वटा प्रयास गरेर गिनिज बुकलाई पठाइसकेका छन् ।
नेपाल–अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा अर्को महिना १२ औं विश्व कीर्तिमानका लागि प्रयास गर्ने योजनामा छन् उनी । ‘द मोस्ट बटरफ्लाई किक्स फुल ट्विस्ट इन वान मिनेट’ मा उनले अर्को विश्व कीर्तिमानी प्रयास गर्न लागेका हुन् । यसमा ३६० डिग्रीमा शरीर घुमाउनुपर्छ । कीर्तिमानका लागि उनले एक मिनेटमा १५ पटकभन्दा बढी गर्नुपर्ने हुन्छ ।
पछिल्लो दुई दशक उनी यो क्षेत्रमा छन् । अहिले उनी ओहायोको एक्रोनमा बस्छन् । उनी गत वर्ष त्यहाँ गएका थिए । अमेरिकामा गएर उनले चार विश्व कीर्तिमान बनाइसकेका छन् भने ४ वटामा विश्व कीर्तिमानको मान्यता आउन बाँकी छ । एक्रोन सिटीका मेयर डान हेरिगनले उनलाई विश्व कीर्तिमानका लागि सम्मान गरिसकेका छन् । अप्रिल २१ का दिनलाई एक्रोनवासीका तर्फबाट मेयरले सम्मानका क्रममा ‘दिनेश सुनुवार दिन’ घोषणा गरिदिएका थिए । एक्रोन जनरलमा यो समाचार छापिएको थियो ।
‘यदि ठूलो पुरस्कारद्वारा पुरस्कृत हुन चाहन्छौं भने सबैभन्दा कठोर कर्म रोज,’ ३० वर्षे दिनेशले रोजेको यात्रा कठिन मात्र होइन धेरैका लागि असम्भव जस्तै थियो । अहिले उनकी केही हदसम्म आफू सफल भएको ठान्छन् । उनी आफ्नो कहानी नेटफिलिक्समा फिल्म बनेर आओस् भन्ने चाहन्छन् । जबकि उनको यात्रा आफैंमा वास्तविक फिल्म हो ।
…
दिनेशका सात विश्व कीर्तिमान
१. नेपालमा २०१७ जुन १७
द मोस्ट ट्विस्टिङ ब्याकफ्लिप अफ वाल इन वान मिनेट (एक मिनेटमा १७ पटक घुमाउरो ब्याक फ्लिप गर्ने)
२. नेपालमा २०१८ जनवरी १४
द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड्स (३० सेकेन्डमा १६ पटक सम्म ब्याकवार्ड समरसल्ट हानेको)
३. नेपालमा २०१९ मार्च ११
द मोस्ट ट्विस्टिङ ब्याकफ्लिप अफ द वाल इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १२ पटक घुमाउरो ब्याक फ्लिप गरेको)
४. अमेरिका भर्जिनियामा २०२२ जनवरी ५
द मोस्ट ब्याकवार्ड समरसल्ट ट्राम्पोलिन इन वान हाउर (एक घन्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट ट्रयाम्पोलिन हानेको)
५. अमेरिका ओहिओस्थित एक्रोनमा २०२१ मार्च ७
द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १२ पटक स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप हानेको)
६. अमेरिका ओहिओस्थित एक्रोनमा २०२२ मे २४
द मोस्ट ब्याकवार्ड समरसल्ट ह्वाइल स्किपिङ इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १४ पटक स्किपिङ गर्दै ब्याकवार्ड समरसल्ट हानेको)
७. अमेरिका ओहिओस्थित एक्रोनमा २०२२ जुन १०
द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १३ पटक स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप हानेको)