गोलमेसिन एर्लिङ ब्राउट हालान्डको गोलको बावजुत नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको छ । नर्वेले सुरुवाती अग्रता लिनका बावजुत घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा तीन गोल भएको थियो । ४७औं मिनेटमा हालान्डले गोल गर्दे नर्वेलाई सुरुवाती अग्रता दिलाए । उनले मोहम्मेद इलयोउनोउसीको पासमा गोल गर्न सफल भएका थिए ।
६९औं मिनेटमा एन्डराज स्पोररले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले बेन्जामिन सेस्कोको पासमा गोल गर्न सफल भएका थिए । अघिल्लो गोलमा असिस्ट दिएका सेस्कोले ८१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को पूनरागमन जित दिलाए ।
यस जितसँगै लिग बी ग्रु ४ मा स्लोभेनिया ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हारका बाबजुत नर्वे १० अंक जोडेर शीर्षस्थानमा छ । समान १० अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । स्वीडेन ३ अंक जोडेर पुछारमा छ ।
अन्य नतिजा
नर्दन आयरल्यान्डविरुद्ध कोसोभो (२–१), चेक रिपब्लिकविरुद्ध पोर्चुगल (०–४), स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (१–२), स्कटल्यान्डविरुद्ध आयरल्यान्ड (२–१), इजरायलविरुद्ध अल्वानिया (२–१), सर्वियाविरुद्ध स्वीडेन (४–१) र साइप्रसविरुद्ध ग्रीस (१–०)