आयोजक टोली कतारका प्रशिक्षक फेलिक्स सान्चेजले फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलमा पराजित भएपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकारेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको बताए । ‘सुरुवातमा आज हामीसँग कुनै वहाना छैन । इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरु जितको हकदार थिए । हामीले अझै सुधार गर्नुपर्नेछ । हामीले राम्रो फुटबल खेल्न सकेनौं । जिम्मेवारीका कारण हो वा यो अवसरमा खेल्दा, सुरुवात नै राम्रो हुन सकेन,’ उनले भने ।
‘यो नतिजासँगै अब अघि बढ्न हामीले यो नतिजा बिर्सनुपर्छ । अब हामीले आफैंलाई अझ प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामीसँग त्यो क्षमता पनि छ,’ उनले थपे ।
यता इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारोले टोलीले सबैभन्दा महत्त्वपूर्ण खेल जितेको बताए । ‘विश्वकपको उद्घाटन खेलमा सबैको नजर हुन्छ । हामीले अन्तर्राष्ट्रिय ब्रेकपछि कतारको लागि तयारी गर्न पर्याप्त समय पनि पाएका थिएनौं । अझ कतारबाट के अपेक्षा गर्ने पनि थाहा थिएन । आजको नतिजाले हामीलाई निकै राम्रो अवस्थामा छौं,’ उनले भने ।
‘हामी विश्वकपको सबैभन्दा युवा टोली हौं । हामीलाई नकआउट चरणमा पुग्नका लागि यो खेल जित्नैपर्ने थियो । यो जितले मात्र पुग्दैन, तर हाम्रो खेल्ने शैलीले जित हासिल गर्यौं । हामीले अझ राम्रो गर्न सक्थ्यौं र मैले हाफ टाइममा पनि जित अति आवश्यक रहेको बताएको थिएँ,’ अल्फारोले थपे ।