परिवर्तित खेलाडी इडेन हाजार्डको एक गोल र एक असिस्टसँगै कीर्तिमानी १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार जितसहित विजयी सुरुवात गरेको छ ।
रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।
सेल्टिक पार्क ग्लास्गोमा मंगलबार राति भएको खेलमा घरेलु टोली सेल्टिकले रियललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफमै चोट बोकेपछि स्टार फरवार्ड करिम बेन्जेमा मैदानबाट बाहिरिए पनि रियललाई उनको अभाव भएन ।
५०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले फेडे भाल्भेर्डेको पासमा गोल गर्न सफल भएका थिए । ६०औं मिनेटमा लुका मोड्रिचले हाजार्डको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
७७औं मिनेटमा हाजार्डले ड्यानियल कार्भाजलको पासमा गोल गर्दै रियलको जित पक्का गरे । हाजार्ड ३०औं मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । घुँडामा समस्या देखिएपछि गत सिजनको सर्वाधिक गोलकर्ता रहेका बेन्जेमाले मैदान छाड्नुपरेको थियो ।
यस जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । साख्तर डोनेस्कले पनि ३ अंक जोडेको छ । आरबी लाइप्जिग र सेल्टिकले अंकको खाता खोल्न सकेको छैन ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले आरबी लाइप्जिगलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
साख्तरको जितमा मारयना स्भेडले दुई तथा माइखेलो मुडरिक र लास्सिना ट्राओरेले समान एक गोल गरे । लाइप्जिगका मोहम्मेद सिमाकानले एक गोल फर्काए ।