जर्मनीले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्दा हंगेरीसँग स्तब्ध बनेको छ । जर्मनी घरेलु मैदानमा हंगेरीसँग १–० ले स्तब्ध बनेको हो ।
रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न हंगेरीका एडाम सज्लाईले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा डोमिनिक सोबोस्लाईको पासमा गोल गर्न सफल भएका थिए ।
घरेलु मैदानमा ७३ प्रतिशत बल पोसेसन राख्दै हंगेरीमाथि लगातार दवाव बढाएपनि जर्मनी फिनिसिङमा चुक्दा जर्मनीले नेसन्स लिगमा पहिलो हार बेहोर्न पुग्यो । यता, हंगेरीले घरेलु टोली जर्मनीको दवाव थेग्दै आफ्नो गोललाई जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो । यस जितसँगै हंगेरी नेसन्स लिगको फाइनल नजिक पुगेको छ ।
हंगेरीसँगको हारसँगै जर्मनीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मनी सन् २०२१ मा भएको युरोकपमा इंग्ल्यान्डसँग २–० ले पराजित भएयता १३ खेलमा अपराजित रहेको थियो । जसमा ९ जित र चार बराबरीको नतिजा छ ।
जर्मनीले कोरोनाको कारण कप्तान तथा गोलरक्षक म्यानुअल नुयर र मिडफिल्डर लियोन गोरेट्जकालाई गुमाएको थियो । चोटका कारण मार्काे रिउस पनि टोलीबाट बाहिरिदा टोलीको प्रदर्शन कमजोर बनेको थियो ।
पहिलो हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा जर्मनी ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । जर्मनीलाई हराएको हंगेरी १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।