अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन ग्रीनले एक महिनाअघि भारतविरुद्ध १९ बलमा अर्धशतक हानेका थिए ।
टि२० विश्वकप इतिहासमा भने दोस्रो संयुक्त रुपमा छिटो अर्धशतक पर्दछ । टि२० विश्वपमा सर्वाधिक छिटो १२ बलमै भारतका युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध अर्धशतक हानेका थिए । जुन खेलमा ६ छक्का सामेल थियो । जुन कीर्तिमान सर्वाधिक छिटो कुनैपनि शैलीको अन्तर्राष्ट्रिय क्रिकेटको अर्धशतक हो ।
त्यसपछि स्टोइनिस र नेदरल्यान्ड्का स्टेफन माइबर्गले समान १७ बलमा अर्धशतक हानेका छन् । स्टेफनले आयरल्यान्डविरुद्ध हानेका थिए । ग्लेन म्याक्सवेल, लोकेश राहुल र शोएब मलिकले समान १८ बलमा अर्धशतक हानेका छन् ।
स्टोइनिसको उत्कृष्ट ब्याटिङमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र ६ छक्कासहित ५८ रनको विष्फोटक अविजित इनिङ खेले । कप्तान आरोन फिन्च ४२ बलमा १ छक्कासहित ३१ रनमा अविजित रहे ।
अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ ।