जर्मन बुन्डेसलिगा च्याम्पियन बार्यनले डीएफएल सुपर कपको उपाधि जितेको छ । फाइनलमा लाइपजिगलाई पाँच तीन गोल अन्तरले हराउँदै बार्यनले उपाधि उचाल्न सफल भयो ।
रेड बुल एरिनामा भएको खेलमा बार्यनका लागि जमाल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्गी नाब्री र लिरोय सानेले एक एक गोल गरे । यस्तै लिइपजिगका लागि क्रिस्टोफर, डानी ओल्मोले गोल गरे ।
खेलको १४ औं मिनेटमा जमालको गोलमा बार्यनले अग्रता बनाएको थियो । त्यसपछि ३१ औं मिनेटमा यसै सिजन लिभरपुलबाट बार्यनमा अनुबन्ध भएको साडियो मानेले टिमको अन्तर दुई शुन्यमा पुर्याए । बार्यनका लागि मानेको यो पहिलो गोल हो । यसका साथै उनले आफुले खेलको चारै क्लब मेट्ज, साल्सबर्ग, साउथह्याम्टन, लिभरपुल र बार्यनबाट गोल गर्न सफल भएका छन । उनले बार्यनबाट खेलेको पहिलो प्रतियोगितामा नै उपाधि जित्न सफल भए ।
पहिलो हाफको अन्तिममा बार्यनले खेल तीन शुन्यमा पुर्यायो । उसका लागि पाभार्डले गोल गरे । उनले जमालको पासको सदुपयोग गरेका थिए ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको बार्यनविरुद्ध लाइपजिगले ५९ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि मार्सेलले गोल गरे ।
तर ६५ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै खेल चार एकमा पुर्याए । खेलको ७७ औं मिनेटमा लाइपजिगले खेल चार दुईमा पुर्यायो । उसका लागि क्रिस्टोफरले पेनाल्टीमा गोल गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै गोल अन्तर चार तीनमा झारेका थिए । उनले डोमिनिकको पासको फाइदा उठाएका थिए ।
तर खेलको इन्जुरी समयको अन्तिममा अल्फान्सो डाभिसको पासमा लिरोय सानेले गोल गर्दै बार्यनलाई सुपर कपको च्याम्पियन बनाए ।