नेपालले हारका साथ साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । आइतबार राती आयोजक माल्दिभ्सदसँगको खेल नेपालले ५१–४७ ले गुमाएको छ ।
पहिलो दुई क्वार्टरमा पछि परेको नेपालले तेस्रो क्वार्टरमा पुगेर अग्रता बनाएको थियो । अन्तिम क्वार्टरमा पुनः पछि पर्दै नेपालले पहिलो खेल गुमाएको हो । पहिलो क्वार्टरमा नेपाल १४–१६ ले पछि परेको थियो । दोस्रो क्वार्टरको अन्त्यमा नेपाल २४–२५ ले पछाडि रह्यो । तेस्रो क्वार्टरमा १२ स्कोर थप्दै नेपाल ३६–३४ ले अगाडि रह्यो । चौथो क्वार्टरको अन्तिम तिर अंक गुमाएको नेपाल अन्ततः ४७–५१ पराजित भएको हो ।
खेल अवधिभर विपक्षी खेलाडीमाथि फाउल खेलेका नेपाली खेलाडीको आक्रमण पनि कमजोर रहेको थियो । घरेलु समर्थकका बीच हतोत्साही देखिएको नेपाली टोलीले पहिलो खेल गुमाएपछि फाइनल खेल्ने लक्ष्यमा धक्का लागेको छ । अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।
दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । केहि साता अघि खेल पोशाक र सामाग्री उत्पादक कम्पनी लि निङले नेपाली राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो । यसपटक राष्ट्रिय लि निङकै जर्सी प्रयोग गर्नेछ ।