नेपाली यू–२० महिला टिमले शनिबार साफ यू–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा शुक्रबार पहिलो दिन नेपाली टिम प्रीति राईको कप्तानीमा उत्रेको थियो । दुई गोलले पछि परेको स्थितिमा नेपालका लागि एकमात्र गोल मनमाया दमाईले २४ औं मिनेटमा गरेकी थिइन् ।
बंगलादेशबाट अक्लिमा खातुन, सम्सानुहर र साहिदा अख्तरले गोल गरे ।
साबिक उपविजेता नेपालले आइतबार भुटानसँग खेल्नेछ । अर्को खेलमा बंगलादेश र भारतको प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।