लुम्बिनी — रूपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि भैरहवामा अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सिद्धार्थ रंगशालामा पुस १६ सम्म चल्ने प्रतियोगितामा रूपन्देहीका निजी र सामुदायिक कलेज गरी २० टोलीको सहभागिता रहने संघका सचिव सञ्जय गुरुङले जानकारी गराए ।
क्रिकेट विकासमा स्कुल र कलेजस्तरका प्रतियोगिताले नयाँ प्रतिभा उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष हरिबहादुर थापाले बताए । उनले रूपन्देहीबाट राष्ट्रिय टोलीमा धेरै खेलाडीको स्थान बनाउने गरेकामा अहिले कमी भएकाले विद्यालय र कलेजस्तरबाट अधिक खेलाडी उत्पादन गर्न चाहेको बताए ।
हरेक कलेजले आफ्नो टोलीमा बढीमा दुई बाहिरी खेलाडी राख्न सक्नेछन् ।
प्रतियोगितामा साई ग्लोबल एकेडमी (ए) र (बी), काशी नोबल एकेडमी, लुम्बिनी वाणिज्य क्याम्पस, न्यू होराइजन कलेज, लीलाराम न्यौपाने उमावि, लुम्बिनी इञ्जिनियरिङ कलेज, बुटवल मोडल कलेज, सेन्ट जोसेफ कलेज, शान्ति नमूना उमावि, नेपथ्य कलेज, सिद्धार्थ कलेज, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय, होराइजन जीबीएस, कालिका उमावि, सीसीटी कलेज, जेसिस उमावि, राममणि क्याम्पस, मुनलाइट उमावि र ग्रीनप्लान्ट उमाविले भाग लिनेछन् ।
विजेताले ४० हजार र उपविजेताले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले जनही २ हजार ५ सय तथा म्यान अफ द म्याचले १ हजार पाउने संयोजक विजयसिंह ज्ञवालीले बताए । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गर्ने भएको छ ।