दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनको गोलमा इंग्लिस क्लब टोटेनहम हटस्परले जर्मन क्लब फ्रान्कफुर्टलाई पराजित गरेको छ ।
घरेलु मैदानमा टोटेनहमले १० खेलाडीमा समेटिएको फ्रान्कफुर्टमाथि ३–२ को पूनरागमन जित निकालेको हो । टोटेनहमको जितमा सनले दुई तथा केनले एक गोल गरे । फ्रान्कफुर्टका दाइची कामदा र फरिद एलिडोउले गोल गरे ।
टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बुधबार राति भएको खेलको १४औं मिनेटमा दाइची कामदाको गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । उनले सेवास्टिन रोडको पासमा गोल गरेका थिए । १९औं मिनेटमा ह्युङ मिन सनले ह्यारी केनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । क्रिष्टिजन ज्याकीले पेनाल्टी बक्समा केनलाई अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा टोटेनहमलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।
३६औं मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि टोटेनहम खेलमा ३–१ ले अघि बढ्यो । उनले इमिल होज्बवर्गको पासलाई सदुपयोग गरेका थिए ।
६०औं मिनेटमा फ्रान्कफुर्ट १० खेलाडीमा समेटिन पुग्यो । टुटा तीन मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि त्यसपछि टोटेनहमले त्यसको फाइदा उठाउन सकेन । टुटाले ६०औं मिनेटमा रातो कार्ड पाएको थियो ।
८७औं मिनेटमा फरिद एलिडोउले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएर फ्रान्कफुर्टलाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल हुन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केनले पेनाल्टी चुकायो । ब्रायन गिललाई पेनाल्टी बक्समा हर्भभोए स्मोलसिसले फउल गरेपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्न सकेनन् ।
यस जितसँगै टोटेनहम समुह ‘डी’ मा ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित फ्रान्कफुर्ट ४ अक जोडेर पुछारमा छ । यही समूहको अर्काे खेलमा मार्सेले १० खेलाडीमा समेटिएको स्पोर्टिङ सिपीलाई २–० ले पराजित गरेको छ । मार्सेको जितमा माटियो गुइनडोउजी र एलेक्सिस साञ्चेजले गोल गरे ।
१९औ मिनेटमा रिकार्डाे इस्गाइओ रातो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा मार्सेले उठाउन सफल भयो । माटियोले २०औं मिनेटमा पेनाल्टीमा तथा साञ्चेजले ३०औं मिनेटमा गोल गर्न सफल भए । यो नतिजापछि मार्से ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा समान ६ अंक नै रहेपनि गोलअन्तरमा स्पोर्टिङ तेस्रोमा छ ।
यस्तै समूह ‘बी’ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै बेल्जियन टोली क्लब ब्रुग दुई खेल अगावै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्काे खेलमा एफसी पोर्टाेले बायर लिभरकुसनलाई ३–० ले पराजित गरेको छ ।
यो नतिजापछि क्लब ब्रुगको ४ खेलबाट १० अंक पुगेको छ । पोर्टाेको ६ र एट्लेटिकोको ४ तथा लिभरकुसनको ३ अंक छ ।
नतिजा
समूह ‘ए’ – नेपोलीविरुद्ध आयाक्स (४–२) र रेन्जर्सविरुद्ध लिभरपुल (१–७)
समूह ‘बी’ – एट्लेटिको मड्रिडविरुद्ध क्लब ब्रुग (०–०) र बायर लिभरकुसनविरुद्ध एफसी पोर्टाे (०–३)
समूह ‘सी’ – बार्सिलोनाविरुद्ध इन्टर मिलान (३–३), र भिक्टोरिया प्लेजेनविरुद्ध बायर्न म्युनिख (२–४)
समूह ‘डी’ – स्पोर्टिङ सिपीविरुद्ध मार्से (०–२) र टोटेनहमविरुद्ध फ्रान्कफुर्ट (३–२)