काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि डाफ्टमा परेका छन् ।
बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह बधान रहेका छन् । त्यस्तै नेदरल्यान्ड्सबाट ब्रेन्डन ग्लोभर,फर्द क्लासेन, रोलेफ भान मर्वे र पउल मान मिर्कीन छन् ।
बिग ब्यासको डाफ्ट आगमी अगष्ट २८ मा सिड्नीमा हुनेछ । डाफ्टमा १३ देशबाट कुल १ सय ६९ खेलाडीले नाम दर्ता गराएका छन् । सन्दीपले यसअघिका दुई संस्करणका विग ब्यास लिग भने होबार्ट हरिकेन्सबाट खेलेका थिए । २०२१/२२ को सिजनमा सन्दीपले १४ खेलमा १४ विकेट लिएका थिए । २०२०/२१ को वर्षमा ८ खेलमा ८ विकेट लिएका थिए ।
सुरुवाती दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले २०१९/२० का संस्करणको बिबिएलमा मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।
सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा १५९.५ ओभर बलिङ गर्दै ७.४२ को इकोनमीमा रन खर्चिदै कुल ४८ विकेट लिएका छन् ।