फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमा दर्शनीय गोल गरेपछि दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोस्टा रिकासँगको हारबाट जोगिएको छ ।
दक्षिण कोरियाले सुरुवाती अग्रता लिनका बावजुत १० खेलाडीमा समेटिएको कोस्टा रिकासँग २–२ गोलको बराबरी खेलेको हो ।गोयोङ रंगशालामा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा ही चान ह्वाङको गोलबाट घरेलु टोली कोरियाले शुरुवाती अग्रता लिन सफल भयो ।
४१औं मिनेटमा जेविसन बेनेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा जेविसन बेनेन्टेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि कोस्टा रिकाले खेलमा २–१ को अग्रता लिन सफल भयो ।
८१औं मिनेटमा कोस्टा रिका १० खेलाडीमा समेटियो । इस्टेवन अल्भाराडो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८६औं मिनेटमा ह्युङ मिन सनले फ्रिकिकमा दर्शनीय गोल गर्दै दक्षिण कोरियालाई हारबाट जोगाए ।