आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अग्रतालाई आठ अंक पुर्याएको छ । यसका लागि उसले आइतबारको उत्तरी लन्डन डर्बीमा टोटनहमलाई २–० ले हरायो । त्यसमा टोटनहमका गोलरक्षक ह्युगो लोरिसले सुरुमै आत्मघाती गोल गरे ।
त्यसपछि मार्टिन ओडगार्डले दोस्रो गोल थपे । टोटनहममाथि उसको घरमा आर्सनलले जित निकालेको यो सन् २०१४ यता पहिलो पटक हो । गत सिजन आर्सनल टोटनहममा ३–० ले पराजित रहेको थियो ।
यो जितपछि आर्सनलको १८ खेलबाट ४७ अंक भएको छ । उसको पछाडि म्यानचेस्टर सिटी ३९ अंकमा दोस्रो स्थानमा छ । न्युकासल युनाइटेड र म्यानचेस्टर युनाइटेडको समान ३८ अंक छ ।
न्युकासलले अर्को खेलमा फुलहमलाई १–० ले हराएको थियो । यस्तै चेल्सी क्रिस्टल प्यालेसमाथि १–० ले नै विजयी रह्यो ।