कप्तान दासुन शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग ६७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।
श्रीलंका कप्तान दासुन शानका ८८ बलमा १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए । शानकाले ८७ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो शतक पूरा गरे । तर शानका बाहेक अन्य ब्याटर चन्न नसक्दा विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पराजित हुन पुग्यो ।
शानकालाई शतकका लागि अन्तिम दुई बलमा दुई रन चाहिँएको थियो । शानकाले पाँचौं बलमा मोहम्मद शामीलाई डिप एक्स्ट्रा कभरमा चौका हान्दै शतक पूरा गरे । अन्तिम बलमा छक्का हान्दै इनिङ सकाएका थिए ।
नवौं विकेटका लागि शानका र कसुन रजिथाले ७३ बलमा १ सय रनको साझेदारी गरेका थिए । रजिथा १९ बल खेल्दै ९ रन बनाए । उक्त साझेदारीमा ८८ रन शानकाले एक्लै जोड्दै उत्कृष्ट शतक हाने । तर त्यो जितको लागि भने पर्याप्त थिएन ।
ओपनर पाथुम निसांका ८० बलमा ११ चौकासहित ७२ रनमा आउट भए । अर्का ओपनर अविष्का फ्रेनान्डो शून्य, कुशल मेन्डिस ५, चरिथ असलंका २३ र वानिन्दु हसरंगा १६ रनमा आउट भए । धनन्जय डि सिल्भाले ४० बलमा ९ चौकासहित ४७ रन जोडे ।
भारतका उमरान मलिकले ८ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले दुई, मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक एक विकेट लिए ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो । भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले ।
कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।
भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि गिल र रोहितले मात्रै १९.४ ओभरमा १ सय ४३ रनको आक्रामक शतकीय साझेदारी गरेका थिए । रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट भए । रोहित तीव्र गतिका बलर दिलशान मदुशंकाको बलमा बोल्ड भए ।
गिल ६० बलमा ११ चौकासहित ७० रनमा कप्तान दासुन शानकाको बलमा एलबीडब्लू आउट भए । चौथो विकेटका लागि लोकेश राहुल र कोहलीले ७० बलमा ९० रनको साझेदारी गरेका थिए । राुहल २९ बलमा ४ चौका र १ छक्कासहित ३९ र श्रेयस ऐर २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
हार्दिक पान्ड्या १४ र अक्षर पटेल ९ रनमा आउट भए । श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए । दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।