विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।
वेस्ट इन्डिजलाई जितका लागि सुपर ओभरमा ३१ रन बनाउनुपर्ने थियो । तर उसले ८ रन मात्र जोड्न सक्यो । पहिलो बलमा लोगन भान बीकलाई छक्का प्रहार गरेका वेस्ट इन्डिजका ब्याटर जोन्सन चार्ल्सले दोस्रो बलमा १ रन लिए । त्यस्तै तेस्रो बलमा कप्तान शाई होपले १ रन लिए । चौथो बलमा चार्ल्सलाई आउट गरेका बीकले पाँचौँ बलमा रोमारियो शेफर्डलाई आउट गर्दै टिमलाई जित दिलाए ।
नेदरल्यान्ड्सका लागि साकिब जुल्फिकर र बास डी लिडले २/२ विकेट लिँदा लोगान भान बीक र भिभियन किंग्माले १ विकेट लिए । ३७५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३७४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक १११ रन बनाए । त्यस्तै स्कट एडवार्ड्सले ६७ रन बनाउँदा विक्रमजित सिंहले ३७ रन बनाए । वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३ विकेट लिए । त्यस्तै अकिल होसेन र अलजारी जोसेफले २/२ विकेट लिँदा जेसन होल्डरको नाममा १ विकेट रह्यो ।