फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा क्रोएसियाले जित निकालेको छ । क्रोएसियाले एसियन प्रतिद्धन्द्धी साउदी अरेबियालाइ १–० ले पराजित गरेकाे हाे ।
यस जितसँगै क्राेएसियाले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । क्रोएसियाको जितमा दोस्रो हाफमा परिर्तित खेलाडी एन्डरेज क्रामारिचले गरेको गोल नै निर्णायक बन्यो । प्रिन्स फैजल विन फाद स्टेडियममा बुधबार राति भएको खेलमा क्रामारिचले ८२औं मिनेटमा गोल गरेका थिए ।
क्रामारिच ५८औं मिनेटमा ब्रुनो पेट्कोभिचको स्थानमा मैदान छिरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसन राखेपनि क्रोएसियाले थप गोल भने गर्न सकेन । यससँगै क्रोएसिया पछिल्लो छ खेलसम्म अपराजित रहन सफल भएको छ ।
नेसन्स लिगमा अष्ट्रियासँग ३–० ले पराजित भएयता क्रोएसियाले फ्रान्ससँग १–१ गोलको बराबरी र त्यसपछि सबै पाँच खेलमा जित निकाल्न सफल भएको छ ।
समूह ‘एफ’ मा रहेको क्रोएसियाले २३ नोभेम्वरमा मोरोक्को, २७ नोभेम्वरमा क्यानडा र १ डिसेम्वरमा बेल्जियमसँग खेल्नेछ ।यता, समूह ‘सी’ मा रहेकाे साउदी अरेबियाले २२ नोभेम्वरमा अर्जेन्टिना, २६ नोभेम्वरमा पोल्यान्ड र ३० नोभेम्वरमा मेक्सिकाेसँग खेल्नेछ ।