विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको दौरान रेफ्रीविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भएका उरुग्वेका ४ खेलाडीलाई कारवाही गर्ने निर्णय लिएको छ ।
उरुग्वेले समूह चरणको अन्तिम खेलमा घानालाई २-० लाई पराजित गरेपनि नकआउट चरणमा स्थान पक्का गर्न सकेको थिएन । उक्त खेलको अन्त्यतिर रेफ्रीको निर्णयप्रति उरुग्वेका खेलाडीले असन्तुष्टि जनाएका थिए । खेलपछि रेफ्रीविरुद्ध अभद्र व्यवहार गरेका खेलाडीलाई फिफाले कारवाही गरेको हो ।
वैकल्पिक गोलरक्षक फर्नान्डो मुस्लेरा र डिफेन्डर जोसे मारिया जिमिनेजले ४ खेलको निलम्बन भोगेका छन् । त्यस्तै डिएगो गोडीन र एडिन्सन काभानीले १-१ खेल गुमाउनेछन् । त्यस्तै सबै खेलाडीले फुटबल सम्बन्धित सामाजिक कार्यमा समय बिताउनु पर्ने र १७ हजार ५ सय पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।
फिफाले उरुग्वेली फुटबल महासंघलाई पनि कारवाही गरेको छ । उक्त खेलमा समर्थक र टोलीका पदाधिकारीको व्यवहारलाई कारण देखाउँदै फिफाले कारवाही गरेको हो । उरुग्वेले ४४ हजार पाउन्ड जरिवाना तिर्नुका साथै अर्को घरेलु खेलमा आधा मात्र दर्शक राख्न पाउनेछ ।