फिफा विश्वकप कतार २०२२ मा दुई फरक खेलमा पहेंलो कार्ड पाएकै कारण सेमिफाइनलमा अर्जेन्टिनाका दुई डिफेन्डर उपलब्ध छैनन् । यसअघि पनि प्रतियोगितामा केहि खेलाडी दुई कार्ड पाएपछि अर्को खेलमा खेल्न पाएका थिएनन् ।
विश्वकपमा दोस्रो पहेंलो कार्डका कारण खेल्न नपाउँदा टोलीलाई निकै घाटा भएको उदाहरण पनि छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७-१ ले पराजित हुन पुग्यो । उक्त खेलमा ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भा दोहोरो पहेंलो कार्डकै कारण टोलीमा थिएनन् । त्यस्तै सन् २०१० मा थोमस मुलरले पनि जर्मनीका लागि स्पेनविरुद्ध सेमिफाइनल खेल गुमाएका थिए ।
फिफाको नियम अनुसार कुनैपनि खेलाडीले दोस्रो पहेंलो कार्ड प्राप्त गरेपछि त्यसपछिको एक खेलका लागि निलम्बित हुनेछ । रातो कार्ड प्राप्त गरेको हकमा पनि यहि नियम छ । यदि सिधै रातो कार्ड प्रप्त गरेको छ भने फलको प्रकृति अनुसार थप कारवाही पनि हुन सक्छ ।
निलम्बनमा पर्नका लागि प्रतियोगिताको लगातार खेलमा पहेंलो कार्ड खाएको हुनुपर्छ भन्ने छैन । समूह चरणमा पहेंलो कार्ड खाएर क्वाटरफाइनलमा अर्को कार्ड खाएपनि सेमिफाइनल खेल्न नपाउने नियम रहेको छ । तर सेमिफाइनलमा पुगेपछि भने कार्डको गणना हुने छैन ।
यसको मतलब, क्वाटरफाइनलसम्म निलम्बनमा नपरेका खेलाडीले सेमिफाइनलमा पहेंलो कार्ड खाए फाइनल खेल्न नपाउने हुँदैन । क्वाटरफाइनलमा पहेंलो कार्ड प्राप्त गरेको खेलाडीले सेमिफाइनलमा पहेंलो कार्ड पाएपनि फाइनल खेल्न पाउनेछन् । तर रातो कार्ड खाएको अवस्थामा भने फाइनल गुमाउनुपर्नेछ ।
अर्जेन्टिनाका दुई डिफेन्डर मार्कस अकुना र माहेल मोलिनाले सेमिफाइनल खेल गुमाउँदै छन् । नेदरल्यान्ड्सविरुद्ध दुवैले पहेंलो कार्ड प्राप्त गरेपछि क्रोएसियाविरुद्ध नखेल्ने भएका हुन् । त्यस्तै मोरक्कोका वालिद चेदिराले फ्रान्सविरुद्ध सेमिफाइनल गुमाउने छन् ।