फिफा विश्वकप कतार २०२२ अघिको फ्रेन्च लिग वानमा अपराजित रहेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लाेस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे । पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नुनो मेन्डिसको पासलाई सदुपयोग गरेका थिए ।
पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लाेस सोलेरेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए ।
८१औं मिनेटमा परिवर्तित खेलाडी रेनाटो सान्चेजले अर्का परिवर्तित खेलाडी ह्युगो इटिकेको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अघि बढाए ।
रेनाटो ६१औं मिनेटमा कार्लाेस सोलेरको स्थानमा तथा ह्युगो ७५औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा ह्युगोले गोल गर्दै पिएसजीलाई ५–० को फराकिलो जित दिलाए ।
यस जितसँगै लिग वानमा अपराजित रहेको पिएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ । पिएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित अक्जिर १३ अंक जोडेर १७औं स्थानमा छ ।
विश्वकप अघि यो नै लिग वानको अन्तिम चरण हो । अब विश्वकप पछि मात्रै लिग वानसँगै अन्य लिगहरु सुचारु हुनेछ ।