लेब्रोन जेम्सले एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका करिम अब्दुल–जब्बरको ३९ वर्ष पुरानो कीर्तिमान मंगलबार तोडेका छन् । करिमको प्रदर्शनलाई धेरैले कहिल्यै तोड्न नसकिने कीर्तिमानको रूपमा लिएका थिए, जसलाई जेम्सले उछिनेका हुन् ।
लस एन्जल्स लेकर्सका स्टार खेलाडी जेम्सले २० औं सिजनमा रोमाञ्चक खेलमा ओक्लाहोमा सिटी थन्डरविरुद्ध २१ फिटबाट पनि स्कोर गर्दै करिअरमा कुल ३८ हजार ३ सय ८७ अंक बनाएका करिमको एनबीएमा सर्वाधिक स्कोरको कीर्तिमान भंग गरेका हुन् । जेम्सले ३८ हजार ३ सय ८८ अंक छोएपछि एरिनामा ठूलो खुसीयाली मनाएका थिए । कोर्ट नजिकै रहेका करिम जेम्सलाई बधाई दिनेमध्येमा पहिलो रहे । करिमले १९८४ मा उक्त कीर्तिमान रचेका थिए ।
उनले खलमा ३८ स्कोर गरेर एनबीए करिअरमा ३८ हजार ३ सय ९० अंक बनाए । अझै उनले कम्तीमा दुई सिजन खेल्ने अपेक्षा गरिएको छ । ‘मलाई थाह छ कि म अझै केही वर्ष खल्ने छु । यो सबै मेरो दिमागको कुरा हो,’ जेम्सले भने, ‘मेरो दिमाग अझै यसमा हुने हो भने म अझै अगाडि बढ्न उत्साहित हुने छु र च्याम्पियनसिपका लागि खेल्ने प्रयास गर्नेछु । मलाई अझै त्यो (च्याम्पियनसिप) गर्न सक्छु भन्ने महसुस हुन्छ ।’
लेकर्स संघर्षरत भए पनि जेम्सले औसतमा प्रतिखेल ३० स्कोर गरिरहेका छन् । उनी करिमको कीतिमान भंग गर्न ३६ अंक चाहिएको स्थितिमा ओक्लाहोमाविरुद्धको खेलमा पुगेका थिए । ३८ वर्षीय उनले सुरुका दुई प्रहार असफल भए पनि पहिलो क्वाटरको मध्यतिर थ्री–प्वाइन्टरमार्फत् लय समातेका थिए । चारपल्टका एनबीए च्याम्पियन जेम्सले पहिलो क्वाटरमै ८ अंक बनाए । दोस्रो क्वाटरमा १२ स्कोर गरेपछि उनलाई परिवर्तन गरियो । तेस्रो क्वाटरमा ८ अंक जोडेपछि उनलाई कीर्तिमान तोड्न अन्तिम क्वाटरमा ८ अंक जोड्नुपर्ने अवस्था बन्यो । अन्ततः लामो प्रयासपछि उनी करिमको ३९ वर्ष पुरानो कीर्तिमान भंग गर्न सफल भए ।