सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग हार बेहोर्दै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । इन्ज्युरी समयमा जापानी मिडफिल्डर काओरु मिटोमाले उत्कृष्ट गोल गरेपछि लिभरपुलको उपाधि जोगाउने लक्ष्य पूरा हुन सकेन ।
लिभरपुल घरेलु टोली ब्राइटनसँग २–१ ले पराजित हुँदै एफए कपको चौथो चरणबाटै बाहिरिएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति भएको खेलमा ब्राइटनका लेविस डंक र काओरु मिटोमाले गोल गरे ।लिभरपुलका आर्भे एलिओटको गोल सान्त्वना बन्यो ।
खेलको ३०औं मिनेटमा हार्भे एलिओटको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
तर लिभरपुलले त्यो अग्रतालाई लिभरपुलले बचाउन सकेन । ३९औं मिनेटमा लेविस डंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले तारिक लाम्पाटेको पासलाई सदुपयोग गरे ।
त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर काओरु मिटोमाले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पार्दै टोलीलाई एफए कपको पाँचौ राउन्डमा प्रवेश गराए । काओरु मिटोमाले पेर्भिसको पासमा सानदार गोल गर्न सफल भएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डरहरुको अगाडी सुन्दर बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै उनले गरेको फिनिस जितका लागि पर्याप्त रहयो ।