फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।
लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा उच्च प्रदर्शन गरेको लिभरपुल दोस्रो हाफमा दबाब खेप्न पुगेको थियो । तर टोटेनहमले एक गोल मात्र फर्काउँदा पाहुना टोलीले जित हासिल गर्न सफल भयो ।
खेलको ११ औं मिनेटमा सलाहले लिभरपुललाई अघि बढाएका थिए । उनले डार्विन न्युनेजको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । ४० औं मिनेटमा सलाहले अग्रता दोब्बर पारे । टोटेनहमका एरिक डाएरले डिफेन्समा गल्ति गरेपछि उक्त बललाई वन भर्सेस वनको स्थितिमा लग्दै सलाहले फिनिस गरेका थिए ।
दोस्रो हाफमा टोटेनहमले लगातार दबाब सिर्जना गरेको थियो । ७० औं मिनेटमा केनले गोल गर्दै खेलमा फर्कने संकेत दिए । डेजान कुलुसेभ्सकीले मैदान पसेको दोस्रो मिनेटमै अवसर सिर्जना गर्दा केनले सुन्दर फिनिस गरेका थिए । टोटेनहमका दुई प्रहार पोस्टमा लाग्दा खेल लिभरपुलले जितेको थियो ।
यस जितले लिभरपुल अंक तालिकाको आठौं स्थानमा पुगेको छ । टोलीले १३ खेलमा १९ अंक जोडेको छ । चौथो स्थानमा रहेको टोटेनहमको १४ खेलमा २६ अंक छ ।