इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक जेसी मार्सलाई बर्खास्त गरेको छ ।आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेका हुन् ।
उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् । मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरिएको छ ।
गत सिजन पनि रेलिगेसनबाट मुस्किलले बचेको लिड्सले यो सिजन प्रिमियर लिगको पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । लिड्स अहिले पनि गोल भिन्नतामा रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । लिड्सले पछिल्लोपटक ५ नोभेम्वर २०२२ मा बर्नमाउथलाई ४–३ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा ३ बराबरी र ४ हारको नतिजा छ ।
४९ वर्षीय अमेरिकी मार्सले गत वर्षको फेब्रुअरीमा मार्सेलो बिएल्साको उत्तराधिकारी बनेका थिए । उनले त्यसबेला टोलीलाई १७औं स्थानमा राख्दै रेलिगेसन टारेको थियो ।
‘हामी जेसी र उनको स्टाफलाई प्रयासको लागि धन्यवाद दिन चाहन्छौं र भविष्यको लागि राम्रो कामना गर्दछौं । नयाँ मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया चलिरहेको छ र हामी आगामी दिनहरूमा समर्थकहरूलाई अद्यावधिक राख्न जारी राख्नेछौं ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लिड्सले बुधवार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आइतवार फेरि एलान्ड रोडमा खेल्नेछ । गत हप्ता मात्र मार्सको सहायकको रूपमा नियुक्त भएका प्रशिक्षक माइकल स्कुबाला, पाको ग्यालार्डो र क्रिस आर्मासले म्यानचेस्टरमा बुधबार हुने खेलको लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
आरबी लाइपजिग, न्युयोर्क रेडबुस र रेडबुल साल्जबर्गका पूर्व प्रशिक्षक मार्शको प्रशिक्षणमा लिड्सले यस सिजनमा २० लिग खेलहरूमध्ये चार मात्र जितेको । ६ बराबरी र १० हारको नतिजा छ । गत सिजनको अन्तिम दिन ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेपछ लिड्स रेलिगेसनबाट बचेको थियो ।