पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् ।
पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षण स्थलमा रहेको स्पेनिस संचार माध्यमले जनाएका छन् । रोनाल्डो रियलको प्रशिक्षण स्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेको जानकारीमा आएको छ ।
रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग व्यक्तिगत छलफल गरेर नै प्रशिक्षणको लागि स्वीकृति लिएका थिए । क्लबले रोनाल्डोको अनुरोधलाई सहर्ष स्वीकार गरेको बुझिएको छ ।
३८ वर्षीय फरवार्डलाई रियल म्याड्रिडले अनुबन्धन गर्ने सम्भावना भने देखिदैन । यसअघि नै अध्यक्ष पेरेजले रोनाल्डो र रियल म्याड्रिडबीच राम्रो सम्बन्ध रहेको र त्यसलाई बिगार्न नचाहेको बताएका थिए ।
रोनाल्डोलाई साउदी क्लब अल नासरले मोटो रकमको प्रस्ताव गरेको चर्चा भएपनि रोनाल्डो आफैंले त्यसलाई नकारिसकेका छन् । अब क्लब फुटबल चलायमान बनेसँगै रोनाल्डो नयाँ गन्तव्यतर्फ लाग्नेछन् । हाललाई भने उनी रियलको प्रशिक्षण स्थलमा बेग्लै आफ्नो व्यक्तिगत तयारी गर्नेछन् ।