फिफा विश्वकप २०२२ कतार अन्तर्गत घानाविरुद्ध जितमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्लेयर अफ द म्याच चुनिएका छन् ।
रोनाल्डोले घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।
घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे । उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।
पोर्चुगलको जित रोनाल्डोसँगै जोआओ फेलिक्स र राफाएल लिआओले पनि १-१ गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले यी दुवैको गोलमा असिस्ट प्रदान गरेका थिए । घानाका लागि ओस्मान बुकारी र आन्द्रे आयुले गोल गरेका थिए ।
रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए । त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोनाल्डोले लगातार तीन विश्वकपमा गोल गरे ।
सन् २०१८ मा भने रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे । उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए । त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल थपेका थिए ।