पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन ।
प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ रुमतर्फ लागेका थिए । खेलपछि क्लबले रोनाल्डो चेल्सीविरुद्ध खेलमा समावेश नहुने जनाएको थियो । रोनाल्डोले आफ्नो सामाजिक संजालमा भने त्यसबेला आफूले सहि कार्य नगरेको बताएका थिए ।
टेन हागले पनि रोनाल्डोसँग छलफल भएको र टोलीमा फर्केको पक्का गरे । ‘हामीबीच सबै कुरा भएको छ । एक अर्काको प्रश्नको उत्तर पायौं । उनलाई एक खेलका लागि टोलीबाट बाहिर राखेका थियौं । अब उनी टोलीमा फर्केका छन्,’ टेन हागले भने ।
रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन् । चेल्सीविरुद्ध खेलमा चोट बोकेका उनले विश्वकपसम्म खेल्ने छैनन् । उनको विश्वकप खेल्ने सम्भावना भने निकै कमजोर छ । २९ वर्षीय डिफेन्डरले फ्रान्सका लागि ८७ खेल खेलिसकेका छन् ।