पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आइतबार म्यानचेस्टर युनाइटेडका गोल गर्दै क्लब करिअरको ७ सयौं गोल गरे । उनले प्रिमियर लिगमा एभर्टनविरुद्ध विजयी गोल गर्ने क्रममा सुन्दर फिनिस गरे । सन् २००२ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट डेब्यु गरेका उनी दोस्रो पटक म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन् ।
रोनाल्डोले प्रिमियर लिगको यस सिजनमा पहिलो गोल गरेका हुन् । यसअघि उनले युरोपा लिगमा भने पेनाल्टीमार्फत गोल गरेका थिए । प्रशिक्षक एरिक टेन हागको आगमनसँगै रोनाल्डोले युनाइटेडमा सुरुवाती रोजाइमा अवसर पाउन सकेका छैनन् । आइतबार पनि उनी पहिलो हाफमै एन्थोनी मार्सियलको स्थानमा मैदान प्रवेश गरेका थिए ।
रोनाल्डोले क्लब फुटबलको ९ सय ४३ औं खेलमा ७ सयौं गोल गर्न सफल भए । उनले यसक्रममा १ सय ९९ असिस्ट पनि प्रदान गरेका छन् । रोनाल्डोले ७६ हजार ८ सय २२ मिनेट खेल्दा प्रति गोल औसत १ सय ९.७ मिनेट खर्चेका छन् । यस्तै उनले यसक्रममा ५० ह्याट्रिक प्रहार गरेका छन् ।
रोनाल्डोको ७ सय गोलमा १ सय २९ गोल पेनाल्टीमा आएको छ । उनले १ सय ५१ पेनाल्टीमा २२ पेनाल्टीमा भने गोल गर्न सकेनन् । रोनाल्डोले क्लब करिअरमा ४८ फ्रिकिक गोल गरेका छन् भने उनले ओपन प्लेमा ५० गोल पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेका छन् । उनले पेनाल्टी क्षेत्र भित्रबाट भने ४ सय ७३ गोल गरेका छन् ।
रोनाल्डोले बायाँ खुट्टाले १ सय २४, दायाँ खुट्टाले ४ सय ६१ तथा हेडरबाट १ सय १३ गोल गरेका छन् । बाँकी २ गोल भने शरीरको अन्य भागमा लागेर गोल भएको छ ।
रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनले ७ अक्टोबर २००२ मा मोरेइरेन्सविरुद्ध गोल गर्दै क्लब फुटबलमा खाता खोलेका थिए । रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए ।
म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे । रियल म्याड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रुपमा रहयो । उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे । युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे ।
म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरेका उनले यस सिजन भने दुई गोल गरेका छन् । यस सिजन खेलेको १० खेलमा उनले अधिकांश समय बेन्चमा नै बिताएका छन् । रोनाल्डोले कुल ९ सय ४३ खेलमा ७ सय गोल गरेका छन् ।