पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन प्रिमियर लिगमा पहिलो तथा क्लब करिअरमा कीर्तिमानी ७ सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ ।
युनाइटेडले एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो । एक गोल एन्टोनीको नाममा रह्यो । एभर्टनका एलेक्स इओवीको गोल सान्त्वना बन्यो ।
गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलको पाँँचौं मिनेटमा इओवीको गोलबाट युनाइटेड खेलमा १–० ले पछि परेको थियो । १५औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल भएका थिए ।
४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–१ ले अघि बढाए । यो सिजन प्रिमियर लिगमा पहिलो रोजाईमा विरलै अवसर पाएका ३७ वर्षे रोनाल्डोले सातौ खेलमा आएर क्यासमिरोको पासमा गोल गर्न सफल भएका हुन् ।
यससँगै उनले व्यवसायिक खेल करिअरमा ७ सय गोलको आँकडा पूरा गरेका छन् । उनले ९४५ खेलमा ७०० गोलको आँकडा पार गरेका हुन् ।
रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५० गोल र युभेन्ट्सबाट १३४ खेलमा १०१ गोल गरेका छन् । गत सिजन युनाइटेड फर्किएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गरेका छन् ।
८१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपनि उक्त गोलको मुभमा फउल भएपछि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।
यस जितसँगै युनाइटेड ८ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अंक जोडेर १२औं स्थानमा रहेको छ ।