युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ ।
गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रुसलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र रुसी क्लब फिफा र युइएफएको प्रतिबन्धमा रहेको छ ।
रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो । जर्मनीमा सन् २०२४ मा आयोजना हुने युरो २०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुदैछ ।
यससँगै रुसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन पाउने छैनन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्णखेलसँगै क्लबले कुनै आधिकारिक खेल खेल्न पाउने छैन ।
‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ । रुसलाई कतारमा आयोजना फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।