क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो ।
रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।
कोलिसिअम अलफन्सो पेरेज गेटाफेमा शुक्रबार राति भएको खेलमा रियलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । ५७औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।
यस जितसँगै रियल ८ खेलबाट २२ अंक जोडेर शीर्षथानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक छ । पराजित गेटाफे ७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
अन्य नतिजा
अल्मेरियाविरुद्ध रायो भालेकानो (३–१), एट्लेटिको मड्रिडविरुद्ध जिरोना (२–१) र सेभियाविरुद्ध एथलेटिको बिल्वाओ (१–१)