सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।
रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
१०औं मिनेटमा रोड्रिगोको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ७०औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । फेडे भाल्भेर्डेको पासलाई अनमार्क रहेका भिनिसियसले बललाई सहजै जाली चुमाए ।
७२औं मिनेटमा मार्काे एसेन्सियोले गोलको सुवर्ण अवसरा चुकाउँदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७८औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा मार्काे एसेन्सियोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा जिरोनालाई पेनाल्टी प्रदान गर्दा स्टुआनी चुकेनन् ।
९०औं मिनेटमा रोड्रिगोले मारियानो डियाजको पासमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो ।
टोनी क्रुस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो ।
यस बराबरीका बावजुत अपराजित रहेको रियल शीर्षस्थानमा उक्लन सफल भएको छ । रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि स्पष्ट १ अंकको अग्रता बनाएको छ ।
रियलको १२ खेलबाट खेलबाट ३२ अंक पुगेको छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ । जिरोना १०औं जोडेर १६औं स्थानमा रहेको छ ।