ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा रियलले बाजी मारेको हो ।
टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।
त्यसअघि किङ फाद इन्टरनेसनल स्टेडियम साउदी अरेबियामा बुधबार राति भएको खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो । इरे कमर्टले पेनाल्टी बक्समा बेन्जेमामाथि नै फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्द उनी चुकेनन् ।
दोस्रो हाफको शुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्कियो । ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।
अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले आज राति प्रतिस्पर्धा गर्दैछ ।