स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।
रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपे । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे ।
मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति गोलको वर्षा भएको खेलको १३औं मिनेटमा भिनिसियसको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
१८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले मोहम्मद कानोको पासमा गोल गरेपछि पहिला हाफमा २–१ को स्थितिमा टुंगिएको थियो ।
५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।
६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले साउद अब्दुलहामिदको पासमा गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले ड्यानियल सेवालोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो ।
७९औं मिनेटमा लुसियानो डारियो भिट्टोले माइकलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।
रियल पाँचपटक फाइनल पुग्दा पाँचैपटक च्याम्पियन बन्न सफल भएको हो । सन् २०१४ मा सान लोरेन्जोलाई हराएर पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो ।
रियलले २०१६ मा कासहिमा एन्टलर्स, २०१७ मा ग्रेमियो र २०१८ मा अल एइनलाई पराजित गर्दै ह्याट्रिक उपाधि जितेको थियो ।