रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो ।
सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा सान्टी कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरे । रियलका लुका मोड्रिच र इडर मिलिसाओले गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा सान्टी कमसानाले फ्रान्सिस्को गार्सियाको पासमा गोल गर्दा रियल खेलमा पछि प¥यो । ३७औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
४१औं मिनेटमा इडर मिलिसाओले मार्काे एसेन्सियोको पासमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ४४औं मिनेटमा अल्भारो गार्सियाले पालाजोनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा रायो भालेकानोका प्रशिक्षक एन्डोनी रातो कार्ड खाँदै टचलाईन छाड्न बाध्य भए ।
त्यसपछि ६६औं मिनेटमा रायोले पेनाल्टी पाएपनि ओस्कार ट्रेजोले पेनाल्टी प्रहा गर्नुअघि नै गोलरक्षक कोर्टुवाले लाइन क्रस गर्दै गरेपछि रि पेनाल्टीमा गोल गर्दै रायोलाई ३–२ ले अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल स्तब्ध बन्न पुग्यो ।
यस सिजनमा रियलको यो दोस्रो हार हो । यसअघि रियलले च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएको थियो । रियलले यो सिजन २० आधिकारिक खेल खेल्दा १५ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।
यस पहिलो हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा दोस्रो स्थानमा यथावत रहेको छ । रियलको १३ खेलबाट ३२ अंक छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ अंक छ । रियललाई हराएको रायो भालेकानो २१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।