स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा क्रोएसियाका कप्तान रहेका मोड्रिचले अष्ट्रियाविरुद्ध ३–१ को जित निकालेको खेलमा चोट बोकेका थिए ।
मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । क्रोएसियासँगै नेदरल्यान्ड्स, इटाली र स्पेन नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् ।
चोट बोकेपछि ३७ वर्षीय मोड्रिच १० दिन मैदान बाहिर रहँदा उनले कम्तीमा पनि तीन खल गुमाउने भएका छन् । बुधबार रियलसँगको प्रशिक्षण दौरान मोड्रिचको चोट पुष्टि भएको हो ।
अब मोड्रिचले ला लिगमा ओसासुना, च्याम्पियन्स लिगमा शाख्तर डोनेस्क र ला लिगामै गेटाफेविरुद्धको खेल गुमाउनेछन् । मोड्रिच च्याम्पियन्स लिगमा शाख्तर र दोस्रो यो सिजनको पहिलो एल क्लासिको (बार्सिलोना) को खेलमा फर्कने अपेक्षा गरिएको छ ।
यस्तै फरवार्ड करिम बेन्जेमाले टोलीसँग प्रशिक्षण गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय विश्रामपछि थिबाउट कोर्टुवा, इडेन हाजार्ड, इडुआर्ड कामाभिंगा, डेभिड अलाबा, फलान्न्ड मेन्डी, ओरेलिएन चुआमेनी र एन्टोनियो रुडिगर प्रशिक्षणमा फर्किएका छन् ।