खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।
युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।
एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा घरेलु टोलीले बलियो युनाइटेडलाई ८०औं मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि त्यसपछि रोक्न सकेन । ८०औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए ।
८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । ६१औं मिनेटमा जेडान सान्चोको स्थानमा मैदान छिरेका १८ वर्षीय युवा विंगर गर्नाचोले वोउट वेगह्रस्टको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ । युनाइटेडले एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग २ अंकले तथा दुई खेल कम खेलेको आर्सनलसँग ५ अंकले पछि छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।