खेलको अन्त्यतिर परिवर्तित फरवार्ड मार्कस रासफर्डले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युनाइटेडले घरेलु मैदानमा लिग वान क्लब चार्लटनलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थप एक गोल ब्राजिली फरवार्ड एन्टोनीको नाममा रह्यो ।
ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको २१औं मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले फ्रेडको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि युनाइटेडले दोस्रो र तेस्रो गोल गर्न खेलको अन्तिम समय कुर्नुपरेको थियो । त्यसपछिको दुवै गोल रासफर्डको नाममा रह्यो । ६०औं मिनेटमा एन्टोनीको स्थानमा मैदान छिरेका रासफर्डले ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए । उनले फकुन्डो पेलेस्ट्रीको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । यसपटक उनले क्यासमिरोको पासलाई सदुपयोग गरेका थिए । यससँगै रासफर्डले यो सिजन आफ्नो गोलसंख्या १५ पु¥याएको छ ।
यस्तै अर्काे क्वाटरफाइनलमा न्यूक्यासल युनाइटेडले लेस्टर सिटीलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । न्यूक्यासलको जितमा ड्यानियल बर्न र जोइलिन्टनले गोल गरे ।
अर्काे क्वाटरफाइनलमा आज (बुधबार) राति नटिङहम फरेस्ट र वल्भ्स तथा साउथह्याम्टन र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।