फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा पहेलो र रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी समस्यामा परेको थियो । सुरुवातमा पहेलो कार्ड खाएपछि असन्तुष्टि पोखेका रामोसलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।
त्यसपछि पनि पिएसजीले रेइम्सलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले ब्राजिली नेयमारलाई दोस्रो हाफमा मात्रै मैदान प्रवेश गराएपनि टोलीलाई जिताउन सकेन । चोटका कारण अर्जेन्टिनी लियोनेल मेस्सी भने टोलीमा थिएनन् ।
यो बराबरीपछि पनि अपराजित रहेको पिएसजी १० खेलबाट २६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० खेलबाटै मार्सेको २३ तथा एक खेल कम खेलेको लोरिएन्टको २२ अंक छ । रेइम्स ८ अंक जोडेर १४औं स्थानमा छ ।