क्याटलान क्लब बार्सिलोनाका फरवार्ड राफिन्हाले दुई गोलसँगै एक असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को लागि खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।
ब्राजिलले अफ्रिकी राष्ट्र ट्युनिसियामाथि ५–१ को सानदार जित निकालेको हो । फान्समा भएको खेलमा ब्राजिलको जितमा राफिन्हाले दुई तथा रिचार्लीसन, नेयमार र पेड्रोले समान एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।
गोलको वर्षा भएको खेलको ११औं मिनेटमा राफिन्हाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । उनले क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा मोन्टासर तल्वीले बराबरी गोल फर्काए ।
त्यसको एक मिनेटपछि नै रिचार्लीसनले राफिन्हाको पासमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । २९औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । एइसा लाइडोयनीले क्यासमिरोमाथि फउल गरेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् ।
४०औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ४–१ को आरामदायी अग्रता दिलाए । उनले रिचार्लीसनको पासलाई सदुपयोग गरेका थिए ।
४३औं मिनेटमा ट्युनिसिया १० खेलाडीमा समेटिन पुग्यो । नेयमारमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले डेलान ब्रोनलाई सिधैं रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
त्यसपछि परिवर्तित खेलाडी पेड्रोले ७४औ मिनेटमा गोल गर्दै ब्राजिलाई सानदार जित दिलाए । पेड्रो दोस्रो हाफको शुरुमै रिचार्लीसनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यस जितसँगै ब्राजिलले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपमा समूह ‘जी’ मा रहेको ब्राजिलले सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।