ब्राजिली फरवार्ड राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ।बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओमाथि १–० को झिनो जित निकालेको हो ।
सान मेमेस बिल्वाओमा आइतबार राति भएको खेलको पहिलो हाफमै राफिन्हाले गरेको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको हो ।
उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई बिल्वाओका गोलरक्षकले बचाए ।
३२औं मिनेटमा इनाकी विलियम्सको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए । लगत्त ३३औं मिनेटमा बेरेनगुएरको कर्नरमा राहुल गार्सियाको डाइभिङ हेडर क्रसबारमा लागेर फर्कदा बिल्वाओ अग्रता लिनबाट चुक्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । राफिन्हाले यो सिजन ला लिगामा ६ गोलसँगै ४ असिस्ट प्रदान गरिसकेका छन् ।
७२औं मिनेटमा इनाकीको प्रहार पोस्टमा लाग्दै फर्कदा बिल्वाओ बराबरीबाट चुक्यो । ७९औं मिनेटमा मुनिएनको प्रहारमा पनि टेर स्टेगन बाधक बने ।
८७औं मिनेटमा इनाकी विलियम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बिल्वाओ बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा मुनिएनले ह्यान्ड भएको भन्दै भिएआरले गोलको मान्यता नदिदा बार्सिलोनाले जित निकाल्दै ३ अंक बटुल्न सफल भयो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इनाकीको प्रहारलाई गोललाइनबाट बचाए । रिवाउन्डमा गुरुजेटाको प्रहारमा टेर स्टेगन बाधक बने ।
यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई पुनः ९ अंकले पछि पारेको छ । बार्सिलोनाको २५ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियलको ५६ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर नवौं स्थानमा छ ।