युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एटलेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो ।
एफसी पोर्टोको मैदानमा २-१ को हार बेहोरेसँगै एटलेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग र बायर लेभरकुसनले गोलरहित बराबरी खेल्दा एटलेटिको पुछारमा नै रहन पुगेको हो । यस समूहबाट एफसी पोर्टो शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल रहयो ।
खेलको पाँचौ मिनेटमा नै मेहदी तारेमीले इभानिल्सनको पासमा गोल गरेका थिए । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दुई गोलको अग्रता लिएपनि पोर्टोले लगातार आक्रमण जारी राख्दै विपक्षी गोलरक्षक यान ओब्लाकलाई व्यस्त राख्यो ।
इन्ज्युरी समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपनि उक्त गोल निकै ढिलो भएको थियो । त्यसअघि गोलरक्षक डिओगो कोस्टाले एटलेटिको म्याड्रिडका फरवार्डले गरेको प्रहार लगातार बचाएका थिए ।
यस नतिजाले पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अघि बढ्यो । ६ खेलमा ११ अंक जोडेको क्लब ब्रुग दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्यो । बायर लेभरकुसनले ६ खेलमा ५ अंक जोड्दै एटलेटिको म्याड्रिडलाई पछि पार्यो । दुवैको समान अंक जोडेपनि हेड टु हेडमा लेभरकुसन अघि रहेको हो ।