युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले सफलता हात पार्दा रोमाले भने हार बेहोरेको छ ।
युभेन्ट्सले घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल नै निर्णायक बन्यो ।
एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा फेडरिकोले ७३औं मिनेटमा गोल गर्न सफल भएका थिए । स्पोर्टिङ सिपीले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा पहिलो लेगमा पराजित हुन पुग्यो ।
यस जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । २० अप्रिलमा स्पोर्टिङको मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके युभेन्ट्स सेमिफाइनलमा पुग्नेछ । स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न कम्तीमा २–० को जित आवश्यक छ ।
अर्काे खेलमा रोमा डच क्लब फियोनुर्डसँग १–० ले पराजित भएको छ । फियोनुर्डको जितमा माट्स वेइफेरले ५३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि ४३औं मिनेटमा रोमाले पेनाल्टी चुकाएको थियो ।
अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसन र बेल्जियम क्लब युनियन सेन्ट जिलोइसले १–१ गोलको बराबरी खेलेका छन् ।लिभरकुसनका फ्लोरिएन हृृत्जले गोल गर्दा युनियनका भिक्टरले बराबरी गोल फर्काए ।