इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सफलता हात पार्दा शीर्ष दौडमा रहेको इन्टर मिलानले हार बेहोरेको छ ।युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित आत्मसात् गरेको हो ।
युभेन्ट्सको जितमा दोस्रो हाफमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज स्टेडियमा टुरिनमा शनिबार राति भएको खेलमा मोइस किनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यस जितले युभेन्ट्स २८ खेलबाट ४४ अंक जोडेर सातौं स्थानमा रहेको छ । पराजित भेरोना १९ अंक जोडेर १८औं स्थानमा छ ।
अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा फियोरेन्टिनासँग १–० ले स्तब्ध बनेको छ । इन्टरलाई स्तब्ध पार्न ५३औं मिनेटमा जियाकोमो बोनाभेन्चुराले गरेको गोल नै निर्णायक बन्यो ।
यस हारले इन्टर मिलानले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । इन्टर २८ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । इन्टरलाई हराएको फियोरेन्टिना ४० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।