युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो बनेको हो ।
पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोलपनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ ।
बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले ३ तथा मकावी हाइफाले ३ अंक जोडेर पुछारमा रह्यो ।एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राति भएको खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गरे । युभेन्ट्सका लियोनार्दाे बोनुचीले एक गोल फर्काए ।
खेलको १३औं मिनेटमा एमबाप्पेले गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए । ३९औं मिनेटमा बोनुचीले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित पक्का गराए ।
अर्काे खेलमा बेन्फिकाले मकावीमाथि ६–१ को सानदार जित निकाल्यो । बेन्फिकाको जितमा गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा, हेनरिक एराउजो र जोओ मारियाले गोल गरे । मकावीका जरुन चेरेले एक गोल फर्काए ।
एक समय ५९औं मिनेटसम्म १–१ गोलको बराबरीको स्थिति रहँदा त्यसपछि बेन्फिकाले ५ गोल थप्दै समूह विजेता बन्न सफल भयो ।