खेलको अन्त्यतिर डिफेन्डर डानिलोले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा महत्वपूर्ण जित निकाल्दा इन्टर मिलान भने दुई पटक अग्रता लिएर पनि बराबरीमा रोकिएको छ ।
युभेन्ट्सले घरेलु मैदानमा उडिनेसमासथ १–० को किठन जित निकालेको हो । एलिएन्ज स्टेडियममा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा डानिलोले खेलको अन्त्यतिर गोल गरेका थिए । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले एक खेल कम खेलेको एसी मिलानलाई १ अंकले पछि पारेको छ । पराजित उडिनेस २५ अंक जोडेर आठौं स्थानमा छ ।
अर्काे खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा इन्टर मिलान घरेलु टोली मोन्जासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
इन्टरका माटियो डारमिएन र लोउटारो मार्टिनेजले गोल गर्दा घरेलु टोली मोन्जाका प्याट्रिक सिउरियाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
मोन्जामा शनिबार राति भएको खेलको १०औं मिनेटमा माटियो डारमिएनलको गोलबाट इन्टरले अग्रता लिएको थियो । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको एक मिनेटपछि नै प्याट्रिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२२औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ ले अघि बढाए । जिततर्फ अग्रसर इन्टर अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डेन्जेल डमफ्रेजले आत्मघाती गोल गर्न पुगेपछि इन्टर जितबाट वञ्चित बन्यो ।
यस बराबरीसँगै इन्टर १७ खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा छ । मोन्जा १८ अंक जोडेर १४औं स्थानमा छ ।