काठमाडौंमा सम्पन्न नेपाल र युएईबीचको ओडिआई सिरिज नेपालले कब्जा गरेको छ ।
तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई नेपालले ६ विकेटले हरायो ।
१७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा ज्ञानेन्द्र मल्ल र आसिफ सेखले १२२ रनको सतकीय साझेदारी गरे ।
जसमा आसिफले अविजित ८८ रन बनाए ।
ज्ञानेन्द्र ६४ रनमा आउट भए ।
ओपनर अर्जुन साउँद १० ओभरमा टोलीको २४ रन हुँदा व्यक्तिगत ९ रनमा आउट भएका थिए ।
त्यसपछि ज्ञानेन्द्र ३३.१ ओभरमा टोलीको १४६ रन हुँदा ६४ मा आउट भएका थिए ।
कप्तान रोहित पौडेल १० रनमा आउट भए ।
दीपेन्द्र सिंह ऐरी शुन्यमा रनआउट भए ।
त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरिरहेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा १७७ रन बनायो ।
उसका आयन अफजल खानले अर्धसतीय पारी खेल्दै अविजित ५४ रन बनाए ।
यस्तै एलिशान शराफुले ३३, रोहन मुस्तफाले २४,हजरत बिलालले १४, मोहम्मद वासीमले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए ।
ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।
यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको थियो ।
कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो।