बंगलादेशले घरेलु टोली युएईमाथि दुई टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । दोस्रो टि२० आई खेलमा बंगलादेशले युएईलाई ३२ रनले हराउँदै क्लिनस्विप गरेको हो ।
जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । युएईका कप्तान सिपी रिजवानले ३६ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।
बासिल हमिदले ४० बलमा ४ चौकासहित ४२ रनमा आउट भए । ओपनर मोहम्मद वासिम १८, चिराग सुरी ५ र वृत्य अरविन्दले २ रन बनाए । बंगलादेशका मोसाद्देक हसनले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । बंगलादेशका ओपनर मेहेदी हसन मिराजले ३७ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाए ।
लिटन दास २५, अफिफ हुसैन १८ र मोसाद्देकले २७ रन बनाए । युएईका अर्यान अफ्जल खानले सर्वाधिक दुई विकेट लिए । पहिलो खेलमा युएई बंगलादेशसँग ७ रनले पराजित भएको थियो । टि२० विश्वकप अघि बंगलादेशले युएईमा गएर अभ्यास गरेको हो । त्यसैक्रममा सिरिज पनि खेलेको हो ।