म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे ।
खेलको पहिलो मिनेटमा नै ज्याक ग्रेलिसको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।
१६औं मिनेटमा उच्च लयमा रहेका हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको पासमा हालान्डले गोल गर्न सफल भए । उनको यो सिजनमा १० खेलमा १४औं गोल तथा प्रिमियर लिगमा ७ खेलमा ११औं गोल हो ।
३३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ज्याक ग्रेलिसमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले नाथन कोलिन्सलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि घरेलु टोली झनै समस्यामा परेको थियो ।
६९औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जित पक्का गरे । फोडेनले मिडफिल्डर डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नक्दा सिटी अपराजित रहँदै शीर्षस्थानमा उक्लन सफल भयो ।
यस जितसँगै अपराजित रहेको सिटीले ७ खेलबाट ५ जित र २ बराबरीसहित १७ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनलको १५ अंक छ । पराजित वल्भ्स ७ खेलबाट ६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।