इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा रियल सोसीडाडलाई पराजित गरेपनि समूह उपविजेता बनेको छ ।
विहीबार सोसीडाडको मैदानमा युनाइटेडले १-० को जित हासिल गरेको थियो । खेलको १७ औं मिनेटमा आलेहान्द्रो ग्रानाचोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियानो रोनाल्डोको पासमा सुन्दर गोल गरेका थिए । तर खेलमा थप गोल हुन नसक्दा युनाइटेड उपविजेतामा सिमित भयो ।
युनाइटेडलाई समूह विजेता बन्न २ गोल अन्तरको जित आवश्यक थियो । तर पहिलो हाफमा रोनाल्डोले अग्रता दोब्बर पार्ने अवसर गुमाए । त्यसपछि डेविड डे हेयाले दुई पटक राम्रो बचाउ गर्दा युनाइटेडलाई अघि राखे । दोस्रो हाफमा दुवै टोलीबाट राम्रो अवसर सिर्जना हुन सकेन ।
यस नतिजाले रियल सोसीडाड युनाइटेडसँग समान १५ अंक भएपनि गोल अन्तरका आधारमा शीर्षस्थानमा रह्यो । अब सोसीडाडले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । युनाइटेडले भने प्लेअफमा प्रतिस्पर्धा गर्नेछ । युनाइटेडले च्याम्पियन्स लिगबाट घटुवा भएका टोलीविरुद्ध खेल्नुपर्ने हुन्छ ।
यसै समूहको अर्को खेलमा एफसी शेरिफले ओमोनिया निकोसियालाई १-० ले पराजित गर्यो । शेरिफले ६ अंक जोड्दा ओमोनिया अंकविहिन रह्यो । शेरिफले अब युरोपा कन्फरेन्स लिगको प्लेअफ खेल्नेछ ।